राजनीति
निर्धक्क भएर चूनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
आफुहरु चूनावमा जान तयार– जनमत पार्टी

काठमाडौं ।। सरकारले चूनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ ।
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले बुधबार जनमत पार्टीसंग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरि वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।
छलफलका क्रममा जनमतका नेताहरुले आफुहरु निर्वाचनमा जान तयार भएको र सुरक्षा लगाएतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।
छलफलपछि उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चूनावको वातावरण बनाउन राजनीतिक दलका कार्यलय पुगेर छलफल गरेको बताउनुभयो । उहाले सरकारको तर्फबाट चूनावको तयारी अगाडी बढाउन जनमतका नेताहरुले सुझाव दिएको उल्लेख गर्नुभयो ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले चूनावी वातावरण बनाउन राजनीतिक दलका कार्यालयमा आएर छलफल हुन सकारात्मक बिषय भएको बताउनुभयो ।
आफुहरु चूनावमा जान तयार रहेको र सुरक्षा लगाएतका सवै तयारीमा गम्भीर भएर लाग्न आफुले सरकारलाई सुझाव दिएको उहाले जानकारी दिनुभयो ।
अध्यक्ष राउतले तोकिएको समयमा नै निर्वाचन हुनेमा कुनै आशंका गर्नुपर्ने ठाँउ नदेखिएको जिकिर गर्नुभयो । उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी कार्यालय पुगेर छलफल गरेको थियो ।
दलहरु र सरोकारसंग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ ।








































