
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूल्याङ्कन भइरहेको जनाएको छ ।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले भोटेकोशी बाढीका कारण भएको नोक्सानीको ४–५ वटा शीर्षकमा वर्गीकरण गरेर मूल्याङ्कन भइरहेको जानकारी दिनुभएको हो ।
बाढीका कारण बालीनालीको नोक्सानीको मूल्याङ्कन राष्ट्रिय योजना आयोगकै प्रतिवेदनमा समेटिने उहाले बताउनुभयो । त्यस्तै उहाले पशुपन्छीको क्षेत्रमा भएका नोक्सानीका बारे किसान सूचीकरणको तथ्यांकका आधार र व्यावसायिक फार्महरूको नोक्सानीको विवरणका आधारमा मूल्याङ्कन भइरहेको उल्लेख गर्नुभयो ।
जग्गाको नोक्सानीका क्षेत्रमा हजारौँ वर्षदेखि खेती गरिँदै आएको र उत्पादकत्वको आधारमा जग्गाको क्षति मूल्याङ्कन गर्ने पद्धति अपनाएको उहाको भनाइ छ । उहाले सवै क्षेत्रका अन्तिम तथ्यांक समितिमा छिटै उपलव्ध गराइने धारणा राख्नुभयो ।
कालीगण्डकी बाढीपछिको नोक्सानीको मूल्याङ्कनको काममा भने केहि ढिलाई भएको सचिव मिश्रले बताउनुभयो ।
समिति सभापति कृष्णप्रसाद पौडेलले बाढी प्रभावित बिभिन्न स्थानीय तहका ४९ वटा वडाको फरक–फरक क्षतिका वास्तविक तथ्यांक प्रमाणीकरण गरेर उपलब्ध गराउन आग्रह गर्नुभयो । सवै तथ्याङ्क आएपछि मात्रै समितिले स्थगलत निरिक्षण गर्ने उहाको भनाइ छ ।









































