
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनपछि कुशासन र बेथीतीको सटर सधैका लागि बन्द हुने बताउनुभएको छ ।
बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकार र मुद्दालाई वर्षौँसम्म अल्झाउने कामका साथै अन्य कुशासन र बेथीतीको सटर सधैका लागि बन्द हुने बताउनुभएको हो ।
उहाले फागुन २१ गते भोट हाल्ने मात्रै नभइ इतिहास लेख्ने दिन भएको उल्लेख गर्नुभयो । जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा मात्र अक्षरमा उल्लेख युगको अन्त्य अब रास्वपाले गर्ने भन्दै लामिछानेले जनताको माग र अधिकारलाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अवस्था अव नेपालमा नचल्ने उहाले बताउनुभयो ।
लामिछानेले देशको राजनीतिक आशा आकांक्षालाई केन्द्रमा राखेर रास्वपा आएकाले देशको परिवर्तनका लागि सहभागी हुन आह्वान गर्नुभयो ।
त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताउनुभयो । सुदूपश्चिमका जनताले आफुहरुलाई मत नदिएपनि सुदूरपश्चिमलाई देशसँग जोडेरै छाड्ने उहाले बताउनुभयो । उहाले विपन्न गरिबले सहज रुपमा शिक्षा पाउनुपर्ने, विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्ने, बीस वर्षमा पनि नबन्ने बाटो डेड बर्षमा बन्नुपर्ने लगाएतका आफुहरुको एजेण्डा रहेको धारणा राख्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस, एमाले, माओवादीसहित सवै नेपाली जनता हिड्ने बाटो बनाउने उहाको भनाइ छ ।









































