
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बई एमसीए प्रेसिडेन्ट–११ सँग पहिलो अभ्यास खेल खेल्दैछ । खेल मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ ।
विश्वकप तयारीको क्रममा रहेको नेपाली टोलीले यसअघि श्रीलंका ‘ए’ टोलीसँग खेलेका तीन टी–२० अभ्यास खेलमध्ये अन्तिम खेल जितेको थियो । एमसीए प्रेसिडेन्ट–११ सँगको खेलपछि नेपालले जनवरी ३१ मा सिसिआईसँग अर्को अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
त्यसपछि नेपालले युएई र क्यानडासँग वार्मअप खेल खेल्नेछ । नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा साँझ ५:१५ बजे खेल्नेछ । यस्तै क्यानडाविरुद्धको खेल फेब्रुअरी ५ मा चेन्नईमै दिउँसो १:१५ बजे सुरु हुनेछ ।
रोहित पौडेलको कप्तानीमा नेपाल १५ सदस्यीय टोलीसहित विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ । विश्वकप खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।
आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ । समूह चरणमा नेपालसँगै स्कटल्याण्ड, इङ्ल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग, १२ मा इटालीसँग, १५ मा वेष्ट इण्डिजसँग र १७ मा स्कटल्याण्डसँग खेल्नेछ । नेपालका सबै समूह चरणका खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुने तालिका छ ।






































