
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनष्टि पार्टी नेकपा ले राजनीतिक कार्यगत एकता गर्ने निर्णय गरेका छन् ।
एमाले र नेकपाले सातै प्रदेशमा सरकार गठन समेत गर्ने गरी तीन बुँदे सहमतिको निर्णय गर्दै शनिबार कार्यगत एकता गरेका हुन् ।
आज भएको निर्णायक वार्तापछि भएको तीन बुँदे सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् । सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमतिमा जनाइएको छ । यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार गरिने सहमति पत्रमा उल्लेख छ ।
सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था र राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्याहरु हल गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उल्लेख छ ।








































