
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धानमा राख्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरेको थियो । नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि नै लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
विभागको पत्रका आधारमा प्रहरीले उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । सुर्खेतबाट बाँके हुँदै स्थलमार्गबाट पौडेललाई मंगलबार बिहान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको थियो । त्यसपछि बिभागले म्याद थपका लागि अदालतमा हाजिर गराएको हो ।
म्याद थपका क्रममा विभागले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले खरिद गरेको बिषयमा भइरहेको अनुसन्धानका सिलसिलामा पौडेललाई पक्राउ गरेको उल्लेख गरेको थियो ।






































