जोडिनुहोस
  • होमपेज
  • ‘सदनमा दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव हुदैन’–सभामुख अर्याल

‘सदनमा दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव हुदैन’–सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट पार्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भन्दै दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट पार्नुभएको हो । संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफ्नो अहम भूमिका रहने उहाको भनाइ छ ।

सभामुख अर्यालले संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष भएकाले यस कार्यको लागि संसद एक खुला विश्वविद्यालयसरह रहने धारणा राख्नुभयो । सत्तापक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सवै सांसदहरुको प्रभावकारी भूमिका रहने उहाले बताउनुभयो ।
सभामुख अर्यालले संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाले देशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माण गर्न र रोजगारी सिर्जनाका लागि आवश्यक कानुन बनाउने थलो संसद भएकोले सबै राजनीतिक दलहरूलाई रचनात्मक सहयोग र सहभागिताको लागि आग्रह समेत गर्नुभयो ।

सभामुख अर्यालले परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्वपूर्ण कानुन निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी रहेकाले समयबद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै सांसदहरुको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो । नयाँ कानुन निर्माण गर्नुभन्दा विद्यमान ऐन कानुनको गम्भीर समीक्षा र पुनरावलोकन गर्दै आवश्यक कानून निर्माणमा जुट्नुपर्ने उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका