
काठमाडौं । काठमाडौँ उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ ।
सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा काठमाडौका बिभिन्न स्थानमा जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने क्रम जारी रहेको हो ।
यसै क्रममा धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर क्षेत्रमा अव्यवस्थीत तथा अतिक्रमित संरचना हटाइएको छ । त्यस्तै विष्णुमति नदी किनारस्थित कामपा–१६ बालाजु–माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्नेक्रम चलिरहेको छ ।
कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य भइरहेको काठमाडौं महानगरले जनाएको छ ।
अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । त्यहाँ राखिएका भूमिहीन सुकुमवासीको पहिचान गरी उनीहरुलाई व्यवस्थापन पनि गरिएको छ ।
यता शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै सहायता आवश्यक नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न आग्रह गरेको छ ।









































