
काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश स् च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ ।
अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ । जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा देखाएको छ ।
बाहिरबाट हेर्दा सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि ऊ भित्रको क्रुर मानसिकता र व्यवाहार कति डरलाग्दो हुन्छ भन्ने ट्रेलरले प्रष्ट पारेको छ । जोगीको भेषको आवरणमा हत्याजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिको कथा सिनेमाले भन्ने संकेत ट्रेलरले देखाएको छ ।
पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढंगले प्रस्तुत गरेको सार्वजनिक ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ ।
ट्रेलरको सबैभन्दा बलियो पक्ष अभिनेता प्रविण खतिवडाको लुक्स र अभिनय हो । सुरुवाती दृश्यमै अभिनेता प्रविण खतिवडालाई एउटा यस्तो साधुको रूपमा देखाइएको छ जो कुनै दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्तिको लागि मरिहत्ते गरिरहेको छ । उनको शरीरमा खरानी, हातमा त्रिशूल र उनको आँखामा देखिएको उन्मादले चलचित्रमा एक शक्तिशाली ‘एन्टी(हिरो’ वा रहस्यमयी पात्रको संकेत गर्छ ।
चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला ९ढुंगा० र त्यसले कलयुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको संकेत ट्रेलरले दिएको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।









































