
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौँदेखि काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभएको छ ।
सडक बोर्ड, नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने कारबाही हुन्छ भन्ने सन्देश दिनका लागि पनि ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभयो ।
उहाँले कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुःखको अन्त्यका लागि पनि ठेक्का तोडिएको उल्लेख गर्नुभयो । सडक विभागले हालसम्म ४० वटा रुग्ण ठेक्का तोडेको छ ।
नियोजित रूपमा कुनै पनि ठेक्का नतोडिएको प्रस्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको पनि बताउनुभयो ।






































