
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका प्रमुख सचेतक वासना थापाले उक्त घटनाको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गर्नुभयो ।
उहाले यस घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै कडा आलोचना गर्नुभयो । प्रमुख सचेतक थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो ।
कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव भत्काउन नसक्ने भन्दै उहाले सम्पूर्ण नेपालीलाई सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन आह्वान गर्नुभयो ।







































