
काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ २५ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले एकसाता पछि बस्ने गरि संसदको बैठक स्थगित गर्नुभएको हो । मंगलबार बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बोल्नका लागि समय दिनुभएको थियो । सो क्रममा नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले देशका कार्यकारी प्रमुखले सीमाका बारेमा दिएको अभिव्यक्ति राष्ट्रियता बिपरित रहेकाले गम्भीर बिषयमा प्रधानमन्त्रीले माफी माग्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाले देशका बिषयमा गम्भीर प्रश्न उठेकाले यसलाई टुङ्गोमा नपुराइ बजेटसम्बन्धी छलफल अघि नबढाउन आग्रह गर्नुभयो ।
त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइ प्रधानमन्त्रीले सत्यतथ्यसहित संसदबाट सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको प्रमुख व्यक्तिले सीमा बिषयमा सदनमा राखेको अभिव्यक्ति अविलम्ब सच्चाउन माग गर्नुभयो । सरकारलाई गल्ति गर्ने छुट नभएको भन्दै उहाले आफ्नो अभिव्यक्ति पुष्टि गर्न माग गर्नुभयो ।
त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि उच्चस्तरीय छलफल मार्फत प्रधानमन्त्रीको अभिव्यक्तिको बिषय र विवादलाई टुङ्गोमा पुराउन माग गरेका थिए । बिपक्षी दलको अवरोधकाबीच सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि उनीहरुले वेल घेराउ गर्दैै नारावाजी गरेका थिए । त्यसपछि भने सभामुख अर्यालले कार्यसूचीमा रहेका बिषयलाई हटाएर जेठ २५ गते सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभयो ।








































