
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजको प्रतिनिधी मण्डलसंग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ ।
सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी,नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम।ए।अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।
पर्यटन मनत्रालयमा भएको भेटवार्तामा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो ।
सो अवसरमा मन्त्री सिन्हाले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी दिनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताउनु भयो । “अन्य क्षेत्रका अतिरिक्त नेपालको पर्यटनका क्षेत्रमा कतासंग धेरै सहकार्य गर्न सकिन्छ । नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारहरू गर्दै आएको छ । कतारी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण निर्मार्ण गर्न तथा कनेक्टिभिटी बढाउन आवश्यक सहजिकरण गर्न नेपाल सरकार तयार छ ।” उहाँले भन्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको बृहत सम्भावना भएको बताउनु भयो । उहाँले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको बताउनु भयो ।







































