काठमाडौं । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले विश्व ध्यान दिवसको अवसरमा हुने कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै स्वामी आनन्द अरुणले मानिसको जीवनमा ध्यानको महत्व बढाउन ध्यान दिवसको अवसरमा हुने कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभएको हो । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने संयुक्त राष्ट्रसंघको घोषणा अनुसार आइतबार काठमाडौंको टुँडिखेलमा विश्व ध्यान दिवसको कार्यक्रम मनाउने उहाले जानकारी दिनुभयो । उहाले उक्त दिवसमा सहभागी भएर ध्यानका बारेमा जान्न र यसलाई जनजीवनमा अवलम्वन गर्न आग्रह गर्नुभयो । दिवसको एक दिन ध्यान दिवस योग दिवस लगाएतका दिवस मनाएरमात्रै केहि नहुने भन्दै यसलाई बर्षैभर आफ्नो जीवनमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाले नियमित ध्यानले धेरै रोगहरु लाग्नबाट बच्न सकिने बताउनुभयो ।
ध्यानका परिवर्तनकारी फाइदाहरूलाई उजागर गर्न र शारीरिक, मानसिक, तथा आध्यात्मिक कल्याणका लागि यसको अभ्यासलाई प्रोत्साहन दिन समर्पित रहेको उहाले बताउनुभयो । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले विश्व ध्यान दिवस मनाउन सक्रिय अभियान चलाउदै आउनुभएको थियो । राष्ट्र संघले अहिले संसारभरि झन्डै २० देखि ५० करोड मानिसहरुले नियमित रुपमा ध्यान गर्ने गरेको जनाएको छ । यस अघि भारत सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघले २१ जुनलाई विश्व योग दिवस घोषणा गरेको थियो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?