एकताबद्ध , क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गर्नु आजको आवश्यकता हो–नारायणकाजी श्रेष्ठ

एकताबद्ध , क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गर्नु  आजको आवश्यकता हो–नारायणकाजी श्रेष्ठ

आज २०८१ फागुन १ गते ने क पा (माओवादी) द्वारा नेतृत्व गरिएको जनयुद्धको ३० औं वर्षको अवसरमा आदरणीय शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु , वेपत्ता योद्दाहरू प्रति सम्मान प्रकट गर्दछु , घाइते योद्दाहरू प्रति अभिनन्दन गर्दै उहाँहरुको स्वास्थ्य लाभको कामना गर्दछु र सम्पूर्ण देशभक्त , कम्युनिष्ट , क्रान्तिकारी र सच्चा लोकतान्त्रिक शक्तिहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

समग्र जनयुद्ध र यसको विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर  विभिन्न कोणबाट अध्ययन , अनुसन्धान , छलफल , बहस , टिप्पणी लामो कालसम्म भई नै रहनेछन् । यो स्वाभाविक छ । तर नेपाली समाजका सबै उत्पीडित वर्ग र समुदायमा आफ्नो  मुक्तिको निम्ति व्यापक चेतना तथा जागरणको विस्तार र आज संस्थागत भएको ऐतिहाँसिक परिवर्तन तथा उपलब्धिका निम्ति माओवादी जनयुद्धको नै मुख्य भूमिका छ भन्ने तथ्य लाई कसैले इन्कार गर्न सक्दैन , मिल्दैन ।

यसदिनले हामी सबैलाई जनयुद्धको मुख्य भुमिका र सबै लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्य एवं संयोजनमा भएको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप प्राप्त भएको समाजवाद उन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र तथा त्यसलाई संस्थागत गरिएको संविधानको रक्षा , राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गरी सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दै समाजवादको आधार तयार  र अन्ततः वैज्ञानिक समाजवादको निर्माणको लागि दृढ संकल्पका साथ क्रान्तिकारी आन्दोलनमा क्रियाशील हुन प्रेरित गरोस् ।

साथै , यतिबेला संक्रमणकालीन न्याय सँग सम्बन्धित  शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न ध्यान केन्द्रित गर्नु पनि त्यत्तिकै आवश्यक छ । राष्ट्रिय सार्वभौमिकता , भौगोलिक अखण्डता , स्वाधीनता , स्वाभिमान र हितको रक्षा गर्दै उपरोक्त कार्याभारहरू पूरा गर्ने ऐतिहाँसिक नेतृत्वदायी जिम्मेवारी हाम्रो पार्टी ने क पा (माओवादी केन्द्र) को काँधमा छ । त्यसकालागि रुपान्तरण तथा पुनर्गठनको महाअभियान अघि बढाउँदै  एकताबद्ध , क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गर्नु  आजको आवश्यकता हो ।

पार्टीको क्रान्तिकारीकरण र सुदृढीकरणलाई मुख्य बनाउँदै पार्टी एकता एवं ध्रुविकरण , आवश्यकता अनुसार संयुक्त मोर्चा र कार्यगत एकता गर्दै र जनतासँगको सम्बन्धलाई घनिष्ट बनाउँदै आवश्यकता अनुसार सरकार , संसद र सडकका मोर्चाहरुको संयोजन गर्दै देश र जनताको मुक्तिको निम्ति अघि बढ्नु अनिवार्य छ । यसलाई गम्भीरतापूर्वक आत्मसात गरौं र ठोस  व्यवहारमा लागू गरौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार