राजनीति
सवैको सहयोगबाट मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सफल–प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सवैको सहयोगबाट मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सफल भएको बताउनुभएको छ ।
बुधबार बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसंगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सवै राजनीतिक दलहरुको सहभागीता र सहयोगका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सफल भएको बताउनुभएको हो । उहाँले निर्वाचनमा विजय हुनुभएका नेताहरुलाई बधाई दिदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिनुभएको थियो । सो क्रममा नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने खतरा भएपनि तोकिएको समयमा नै निर्वाचन गर्न सरकारले गरेको काम निकै महत्वपूर्ण र प्रशंसालायक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै नेकपा सहसंयोजक माधव कुमार नेपालले अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्रीको छवि, इमान र दृढताका कारण निर्वाचन सम्पन्न भएको बताउनुभएको थियो ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नुभएको थियो ।







































