काठमाडौँ I ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ ।
दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
उहाँले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । लक्ष्यको अर्थ ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरू मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।
“हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ । हाल विश्वव्यापी वित्तीय सङ्कट, भेदभावका कारण एचआइभी प्रतिकार्यमा चुनौती कायमै छ । हामी सबैले मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ जसले गर्दा रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित हुनेछ,” डा गौतमले भन्नुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?