शान्ति, स्थिरता र कानुनी राज्यको पक्षमा यो देशलाई फर्काइनेछ–केपी ओली

शान्ति, स्थिरता र कानुनी राज्यको पक्षमा यो देशलाई फर्काइनेछ–केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकाले गठन गरेको छानबिन आयोगप्रति कडा आपत्ति जनाउनुभएको छ। 

सरकारले गठन गरेको छानबिन आयोग पूर्वाग्रही भएको बताउनुभएको छ ।  नेकपा एमाले भक्तपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘नक्कली छानबिन आयोग एमालेलाई मान्य छैन।’

 ओलीले वर्तमान छानबिन आयोगलाई ‘पूर्वाग्रही’ र ‘नक्कली’ भन्दै अस्वीकृति जनाउँदै सो आयोगका संयोजकले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो – ‘पहिला नै केपी ओलीलाई थुन्नुपर्छ भन्ने व्यक्तिको संयोजकत्व बनेको छानबिन आयोग नेकपा एमालेलाई मान्य छैन।’


उहाँले नेपालको राजनीतिक संघर्ष केवल ख्यालठट्टा नभई तीतो अनुभव भएको बताउनुभयो । ‘हामीले जेलनेल भोगेका छौँ, कठिनाइ भोगको छौँस यो हामीलाई नयाँ कुरा होइन, देशको रक्षाका लागि र हितका लागि हामी जुनसुकै बलिदान दिन तयार छौँ’, उहाँले भन्नुभयो ।

ओलीले हाल देशमा नयाँ पुस्ता नाममा चलाइएको आन्दोलनले भ्रम फैलाएर अस्थिरता निम्त्याएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘जेनजी भनेर केही युवालाई भ्रममा पारेर देशमा अस्थिरता मच्चाउनेहरूले वितण्डा मच्चाए।’

त्यसैगरी उद्योग, पर्यटन र ऐतिहासिक सम्पदामाथि भएको क्षतिलाई निन्दा गर्दै उहाँले भन्नुभयो, ‘नेपालका उद्योगहरूमा आगो लगाएर ध्वस्त पार्ने, ऐतिहासिक सम्पदा जलाउने, पर्यटन व्यवसाय समाप्त बनाउनेहरूले देश बनाउँदैनन्।’

अध्यक्ष ओलीले अहिले देखिएको अराजकता र अपराधजन्य गतिविधि देशको साझा हित विपरीत रहेको बताउनुभयो। ‘अराजकता यस देशमा स्थायी हुन सक्दैन। शान्ति, स्थिरता र कानुनी राज्यको पक्षमा यो देशलाई फर्काइनेछ’, उहाँले भन्नुभयो । 

ओलीले संसद् विगठन असंवैधानिक र गैरकानुनी भएको बताउनुभयो । यसको उपचार खोजिने उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले सरकार लोकतान्त्रिक मान्यताविहीन भएको बताउनुभयो । ‘अहिलेको सरकार संविधानसम्मत छैन,’ उहाँले भन्नुभयो, ‘ यो लोकतान्त्रिक सरका होइन, लोकतान्त्रिक शक्ति र नेपाली जनताले अलोकतान्त्रिक सपना देख्नेहरूको टाउकामा चिसो पानी खन्याउनेछन्।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार