स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेका उल्लेख गर्नुभयो ।  

मन्त्री डा राणाले भन्नुभयो “ग्रामीण बस्तीदेखि शहरी अस्पतालसम्म नै नर्सहरुको सेवा, समर्पण र विरामीहरुप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ ।” 

बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र विरामीहरुलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ–शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै  स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उहाँले बताउनुभयो । 

मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री डा राणाले भन्नुभयो “नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।”

उहाँले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार