काठमाडौं । पछिल्लो समय नयाँ पुस्ताहरु सामाजिक कार्यमा आकर्षित हुदै गएका छन् । सामाजिक कार्यमा सहयोग गर्न धन होइन मन चाहिन्छ भन्ने उदाहरण पनि उनीहरुले देखाउदै आएका छन् । यसै क्रममा युलियन्स स्कुलमा अध्ययनरत केहि विद्यार्थीहरुले काठमाडौंको तारकेश्वर–३ ठूलागाँउमा रहेको मातृ नेपाल बालगृहमा रहेको बालबालिकालाई सहयोग गरेका छन् । नमामी आचार्य, दिभ्यान्सी जोशी र उनका साथीहरुले केहि रकम विद्यालयबाट जोहो गर्दै र रोटरी क्लव नागार्जुनबाट प्राप्त केहि रकम जुटाएर बालगृहमा रहेका ४६ जना बालबालिकालाई जुत्ता, जर्सी, मोजा, फुटवल लगाएतमा सामाग्री सहयोग गरेका हुन् ।
नमामीले आफू र साथी स्कुल छुट्टीका दिन घुम्न आउँदा बालगृह देख्नु भएको थियो । त्यसपछि भने आचार्य र जोशी बालगृहमा हरेक शनिबार पुगेर अंग्रेजी पढाउने, फुटबल खेलाउने, विभिन्न बिषयमा अन्तरक्रिया गर्दै आउनुभएको छ । कसैले चप्पल, कसैले खाली खुट्टा फुटवल खेल्दा चोट पटक लाग्ने रगताम्मे हुने देखेपछि उनीहरुले आफ्नै पहलमा बालबालिकाहरुलाई सहयोग गर्ने सोच बनाए र उनीहरुलाई अभिभावक, रोटरी क्लव नागार्जुन र नेपाल जुत्ता फ्याक्ट्री प्रालिले साथ दिए ।
नमामी आचार्यले आफुहरु हरेक शनिबार आउदा बालबालिकाहरु खाली खुट्टा हिड्ने, फुटबल खेल्ने र खुट्टामा घाउ भएको देखेपछि सहयोग गर्ने प्रण लिएको बताउनुभयो । बालबालिकालाई सहज रुपमा हिड्न, फुटबल खेल्नका लागि आफुहरुले जुत्ता, जर्सी लगाएतका सामाग्री सहयोग गरेको उहाले बताउनुभयो ।
त्यस्तै दिभ्यानसी जोशीले आफुहरुले सहयोग गर्ने अठोट लिदा अभिभावकहरुले साथ दिएको र सहयोग गर्न सफल भएको भन्दै आगामी दिनमा आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेलले सामाजिक सेवाका क्षेत्रमा नयाँ पुस्ताहरुको सक्रियता देखेर आफुहरुले पनि केहि सहयोग गरेको बताउनुभयो ।
२०५८ सालमा स्थापना भएको मातृ नेपाल बालगृहमा हाल डोल्पा, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक, नुवाकोट लगाएतका स्थानका ४६ बालबालिकाहरु रहेका छन् भने उनीहरुलाई नजिकैको बिद्यालयमा पठनपाठनको व्यवस्था गरिएको छ । बालगृहका अध्यक्ष नरबहादुर राउतले बिभिन्न व्यक्तिहरुको साथ र सहयोगका कारण गरिव असाहय बालबालिकाहरुलाई राखेर अध्ययनको समेत व्यवस्था गर्न सफल भएको बताउनुभयो । बिभिन्न संघ र व्यक्तिहरुबाट सहयोग आएपनि राज्यले भने कुनै सहयोग नगरेको उहाले गुनासो गर्नुभयो ।
बालगृहमा रहेका बालबालिकाहरु डाक्टर, शिक्षक, सुरक्षाकर्मी, खेलाडी बन्ने लक्ष्यका साथ अध्ययनरत छन् । त्यँहा हुर्किएका मध्ये कोहि सरकारी जागिरे छन् भने कोहि स्वदेश एवं विदेशमा विभिन्न रोजगारीमा संलग्न छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?