बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । यही मङ्सिर १३ गते बैतडीमा मायाको घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो ।
घाइते अवस्थामा भेटिएकी नेहाले दिएको बयान र मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । कास्कीको पोखरामा रहेको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला यो घटना घटेको हो ।
घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशङ्का गरिएको थियो । प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्वीकार गरेका छन् ।जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाईएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?