कर्णाली नदीको कटानका कारण सत्ती पुल र बस्ती जोखिममा परेको छ । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र कैलालीको टीकापुर–८ मा रहेको श्रीलङ्का गाउँ जोखिममा छ । नदिले कटान तिव्र पारेपछि श्रीलङ्का बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको बीओपी छ । करिव एक सय पाँच परिवार बस्दै आएको सो बस्ति र खेत कटानको जोखिममा छ ।
नदी कटानले पानीको भङ्गालो बस्तीमा पस्न सक्ने जोखिम रहेकाले अन्यत्र सार्नुपर्ने वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो । अत्यावश्यक सामान सुरक्षित राख्न र बढी वर्षा भएर कटान बढेमा बस्ती नै सार्नेका लागि नगरपालिकाले तयारी थालेको उहाँले बताउनुभयो । नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा रहेको छ ।
गएको वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो । सत्ती पुल भएर दैनिक सयौँ गाडी र हजारौँ नागरिक आवतजावत गर्दछन् । कर्णालीमा पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?