काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने दुष्साहन नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।
नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकपटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद बिघटन भइसकेको भन्दै निर्वाचन सारेर पटक पटक संविधान मिच्ने दुष्साहन नगर्न सरकारलाई चेतावनी दिनुभएको हो ।
देशको असहज अवस्थालाई हेरेर अन्तरिम सरकार गठनका लागि आफुहरुले सहजीकरण गरेको उहाको भनाइ छ । केहि अहंकारी र दम्भीहरुले धम्कीको भाषा बोल्ने गरेको भन्दै उहाले शान्तिपूर्ण निर्वाचन सम्पन्न नभए नेकपा चूप लागेर नबस्ने स्पष्ट पार्नुभयो ।
निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेको उल्लेख गर्दै उहाले केही तत्वले त्यसलाई प्रभावित पार्ने प्रयास गरिरहेको धारणा राख्नुभयो । उहाँले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताउनुभयो । देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उहाँले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले एक भएर देशको चूनौति सामना गर्न आफुहरु तयार भएको भन्दै जनताले आगामी निर्वाचनमा विश्वास गर्ने बताउनुभयो । जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा, अग्निपरीक्षा सुरु हुने उहाको भनाइ छ । उहाले जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौं भन्ने पुष्टि गर्नैका लागि भएपनि एक पटक मौका दिन आग्रह गर्नुभयो ।
सह–संयोजक नेपालले युवाहरुले राखेका मुद्दाहरुलाई अघि बढाउनका लागि पार्टीमा जेनजी पुस्तालाई पार्टीमा भित्राउदै छलफल गरिरहेको जानकारी दिनुभयो । आफुहरुको बिचारलाई जनतामाझ सम्प्रेषण गर्ने अभियान निरन्चर चल्ने उहाको भनाइ छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?