अहिलेको सत्ता समीकरण पूरै अवधि चल्छ : प्रधानमन्त्री

अहिलेको सत्ता समीकरण पूरै अवधि चल्छ : प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनुभएको छ । उहाँले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो ।

आइतबार दिउँसो धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा नयाँ सरकार गठनको काम  चाँडै सकिने अपेक्षा पनि गर्नुभयो ।

प्रधानमन्त्रीले विगतका तुलनामा नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न तरिकाले वैज्ञानिक र जनमैत्री आउने बताउनुभयो ।

उहाँले सरकार लगानी सम्मेलनको तयारीमा पनि जुटेको बताउनुहुँदै लगानी मैत्री वातावरणका लागि एक दर्जन ऐन अध्यादेशबाट परिवर्तन गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकार जलवायु परिवर्तनको समस्यालाई ध्यानमा राखेर पहाडी मुलुकहरु सहभागी हुने पर्वतीय सम्मेलनको तयारीमा रहेको पनि जानकारी गराउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलो पटक कतारका राजा अमिर नेपाल आउन थालेकोमा खुसी प्रकट गर्नुहुँदै उहाँको स्वागतका लागि अन्तिम तयारी भइरहेको पनि बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘‘समीकरण वामपन्थीको मात्र भनेर गरेको होइन, अहिले वामपन्थी एकता भन्नु पनि ठिक होइन । भोली राम्रै काम हुँदै गयो समझदारी भयो भने वामपन्थी एकता पनि होला तर अहिले वामपन्थी एकता होइन राजनीतिक सत्ता समीकरण हो भन्न मात्रै मिल्छ ।’’

प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्न धनगढी आउनुभएको हो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार