न्यारोबडी जहाजको इन्जिन मर्मतका नाममा भ्रष्टाचार भएको संसदीय समितिको आशंका, कारवाही गर्ने चेतावनी

न्यारोबडी जहाजको इन्जिन मर्मतका नाममा भ्रष्टाचार भएको संसदीय समितिको आशंका, कारवाही गर्ने चेतावनी

काठमाडौं । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक समस्या आएपछि संसदीय समितिले चासो व्यक्त गरेको छ । 
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सोमबार निगमका पदाधिकारीसंग छलफल गर्दै न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक देखिएको समस्याप्रति चासो व्यक्त गरेको हो । समितिले १५ दिनभित्र न्यारोबडी इन्जीन प्रकरणमा कुनै भ्रष्टाचार छैन भनि आश्वस्त पार्न निगमलाई निर्देशन दिएको छ । 

निगमले चित्तबुझ्दो जवाफ नदिए कारवाहीको प्रक्रिया अघि बढाउन बाध्य हुने समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । भ्रष्टाचार भएको जस्तो देखिने निगमभित्रका केहि कामका बिषयमा प्रमाणसहित समितिलाई प्रष्ट पार्न निगमलाई भनिएको सभापति यादवले बताउनुभयो । 

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको बताउनुभयो । लिजमा दिनुपर्ने अवस्थामा पनि समयमा नै इन्जिन लिजमा दिन नसकेको उहाले बताउनुभयो । उहाले अप्रिलको २२ तारिकसम्म दुई मध्ये एक इन्जिन तयार हुने दावी गर्नुभयो । अधिकारीले जहाज थप भएको खण्डमा निरन्तर उडान गर्ने भन्दै अहिले नाफा भन्दा पनि राष्ट्रिय दायित्व पुरा गर्न दुर्गम क्षेत्रमा उडान गरेको जानकारी दिनुभयो । उहाले युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । 

बैठकमा समिति सदस्यहरुले न्यारोबडी जहाजको इन्जिन मर्मत प्रक्रिया स्वभाविक नदेखिएको धारणा राखेका थिए । समिति सदस्य उदय शंशेर जबराले यहि व्यवस्थापनबाट निगमले अन्तराष्ट्रिय मात्रै नभई राष्ट्रिय वायुसेवा कम्पनीसंग पनि प्रतिष्पर्धा गर्न सक्ने नदेखिएको बताउनुभयो । 

त्यस्तै समिति सदस्य योगेश गौचन थकालीले सम्झौता अनुसार सात दिनभित्र इन्जिन बनाउनुपर्ने भएपनि चार महिनासम्म जहाज नै ग्राउन्डेड भएर बस्नुपर्ने अवस्थाको जिम्मेवारी निगमले लिनुपर्ने बताउनुभयो । उडेपनि नउडेपछि पैसा दिनुपर्ने गरि इन्जिन भाडामा लिनुपर्ने अवस्थाले आशंका उत्पन्न भएको उहाको भनाइ छ । 

त्यस्तै अन्य समिति सदस्यहरुले नागरिक उड्ययन प्राधिकरण र निगमको ढिलासुस्तीका कारण युरोपियन युनियनको कालोसूचीबाट हट्न नेपाललाई समस्या भएको धारणा राखेका थिए । यस बिषयमा निगम भन्दा पनि क्यान गैरजिम्मेवार देखिएको उनीहरुको भनाइ छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार