बारामा हतियारसहित पाँच जना सिकारी पक्राउ

बारामा हतियारसहित पाँच जना सिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट मृत जरायो र हतियारसहित पाँच जना सिकारी पक्राउ परेका छन् । वन्यजन्तुको सिकार गरिरहेको अवस्थामा सोमबार राती ११ बजे जमुनिया नाकाबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक, त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नगद, नाईटभिजन, बाईनाकुलर, टेलिस्कोप बरामद गरेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले बताउनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेपछि उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी १ का विशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, काभ्रेपलान्चोकका दामोदर अधिकारी र ठेगाना नखुलेका मालदोम तामाङ रहेको उहाँले जानकारी दिनुभयो ।

उनीहरुले प्रयोग गरेको बा ५च ७८०५ र प्रदेश ०३–००१ च ३०९७ नम्बरको दुई वटा गाडीसमेत गस्ती टोलीले नियन्त्रणमा लिएको छ । दुईवटा गाडीमा निकुञ्जको ‘कोर एरिया’ भित्र पसेर सिकार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको गस्ति टोलीले जानकारी दिएको छ । पक्राउ परेका पाँच जनालाई नियन्त्रणमा राखेर अनुसन्धान थालिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार