बाँके प्रहरीले कोहलपुरको विभिन्न स्थानमा चोरी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामान सहित सार्वजनिक गरेको छ ।
दुई वालकसहित कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन विक, कोहलपुर–२ विकासनगरका ध्रुवसिंह ठकुरीलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेका विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ । पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहनासमेत बरामद भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।उहाँका अनुसार चोरीका तीन थान मोटरसाइकल सहित एकजनालाई पक्राउ गरीएको छ ।
राप्तीसोनारी गाउँपालिका बहुमूल्य मूर्ति चोरी गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका–७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भीमसेन थापा गाउँपालिका–१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातैजना माथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?