कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । पक्राउ परेको श्रेष्ठको साथबाट सुनका गहना र नगद समेत बरामद भएको उहाँले बताउनुभयो । सुनको गहना र नगद चोरी भएको भन्दै ९ जना महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी प्रवतmा खड्काले बताउनुभयो ।
उहाँका अनुसार २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको नगद चोरी गरेको श्रेष्ठमाथि आरोप छ ।श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खड्काले बताउनु भयो । कास्की प्रहरीले यस्तै प्रकृतिका चोरीका घटना भएका अन्य कोही पीडित भए प्रहरी उजुरी दिन अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?