बाख्राले बाली खाएको निहुँमा हत्या

बाख्राले बाली खाएको निहुँमा हत्या

धनुषामा बाख्राले बाली खाएको विषयमा दुई पक्षीय बिच विवाद हुँदा एकजनाको मृत्यु भएको छ । मिथिला विहारी नगरपालिका– ४ रमौलमा दुई पक्षीय विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ भने अन्य ४ जना घाइते भएका छन् । घरेलु हतियार सहित घरमै आएर स्थानीय सुरज यादवको परिवारको समूहले आक्रमण गरेपछि ५३ वर्षीय प्रभु यादवको घटनास्थलमै मृत्यु भएको स्थानियले बताएका छन् ।

 दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले घटना हत्या जस्तै देखिएको र दुईजना गम्भीर घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो छोरा आशोक यादव घाइते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । करिब दुई महिनाअघि सुरजको बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विहिबार राति विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । खाना खाएर आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले घरेलु हतियार बन्चरो, खुकुरीसहित आक्रमण गरेको मतृकका परिवारको आरोप छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको र मृतकको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको धनुषा प्रहरीले जानकारी दिएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार