जनकपुर । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आज अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा विवाहपञ्चमी महोत्सव मनाईन्छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंबर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।
यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ । आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न हुने छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?