जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवका लागि भारतबाट श्रद्धालु आउने क्रम सुरु भइसकेको छ । जनकपुरमा रहेका गोपाल र पगला बाबा धर्मशालाजस्ता सस्ता धर्मशालाहरू श्रद्धालुहरूले भरिभराउ छ भने विश्रामका लागि बाह्रबिघामा निर्माण गरिएको पण्डाल , बरन्डा, खुलाचौर, र कम्पाउन्डमा बास बसेका छन् ।
रेलबाट जनकपुर आएका दरभंगाका महाजन महतो सबै यात्री होटल र लजमा बस्ने हैसियतका नभएकाले व्यवस्थापनमा चासो दिनुपर्ने बताउनुभयो । झन्डै २० जनाको टोली सहित जनकपुर आएको र सस्तो धर्मशाला खोज्दा नपाएको उहाँको गुनासो छ । बाह्रबिघा मैदानमा अस्थायी शौचालय तथा खानेपानीको व्यवस्था गरिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव विवाह महोत्सवमा १० लाख श्रद्धालु सहभागी हुने दाबी गर्नुभएको छ ।सीताराम विवाहपञ्चमी महोत्सवको बुधबार नगरदर्शनसँगै सुरु भएको साताव्यापी रामजानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लीला भएको थियो भने शुक्रबार धनुषयज्ञ तथा शनिबार तिलकोत्सव आयोजना गरिएको थियो ।
महोत्सवको पाँचौँ दिन आइतबार सन्ध्या मटकोर हुन्छ भने सोमवार अपराह्न सीता स्वयंवर तथा रात्रिराम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ । मंगलबार जन्तीहरूलाई भोज (रामकलेवा) खुवाएर महोत्सव सम्पन्न हुनेछ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।भारतिय यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?