काठमाण्डौ । सिरहाको मिर्चैया स्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मृत्यु हुनेमा २ जना दाजु–भाई हुन् । इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मिर्चैयाका प्रहरी प्रमुख डीएसपी हरि बहादुर वलीले जानकारी दिनुभयो । तीनै जना बालकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?