म्यादी प्रहरीले अझै औपचारिक पोसाक पाएनन्

म्यादी प्रहरीले अझै औपचारिक पोसाक पाएनन्

आसन्न निर्वाचनका लागि खटिएका रौतहटका म्यादी प्रहरीले अझै औपचारिक पोसाक पाएका छैनन् । शारीरिक तन्दुरुस्ती, लिखित, मौखिक लगायतका परीक्षा उतीर्ण गरेकाहरूलाई सामान्य तालिम पश्चात् असोज ३० गतेदेखि ड्युटीमा खटाइएको छ । तर म्यादी प्रहरीको पोसाक नहुँदा उनीहरू सर्वसाधारण झै एउटा लौरो बोकेर सडकमा उभिइरहेको भेटिन्छन् । गत स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीले भने पुरानै पोसाकमा ड्युटी गरिरहेका छन् भने बाँकी म्यादी प्रहरी चप्पल लगाएर, पोसाक बिना नै खटिएका छन् ।

पोसाक बिनानै ड्यूटी गर्नुपर्दा आफूहरूलाई पनि असहज हुने र धेरैले नपत्याउने गरेको एक म्यादी प्रहरीले बताएका छन् । पटक पटक पोसाकका बारेमा प्रहरी अधिकारीहरूसँग माग राख्दा भोलि–भोलि भनेर टार्ने गरेको उनीहरूको गुनासो छ । ८–१० जनाको समूहमा हातमा लौरो बोकेर टोल, चोक, बजार घुम्दा म्यादी प्रहरी हो हैन झुक्किने गरेको स्थानीय बताउँछन् ।जिल्ला प्रहरी कार्यालयले छिटोभन्दा छिटो उनीहरूलाई पोसाकको व्यवस्था गर्नुपर्ने माग स्थानियको छ ।  

केही दिनभित्रै म्यादी प्रहरीलाई पोसाकको व्यवस्था गरिने रौतहटका प्रहरी प्रमुख वीरबहादुर बुढा मगरले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन सुरक्षाका लागि रौतहट जिल्लामा २ हजार ९ सय ३९ जना म्यादी प्रहरी खटाईएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार