बलात्कारको आरोपमा लागेका वडाअध्यक्ष फरार, कार्यालयको काम प्रभावित

बलात्कारको आरोपमा लागेका वडाअध्यक्ष फरार, कार्यालयको काम प्रभावित

निजगढ । १५ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा बाराका एक वडाअध्यक्ष माथि प्रहरीमा उजुरी परेको छ । निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठ विरुद्ध किशोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढमा उजुरी परेको हो ।

गत असोज २५ मा पीडितले इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएको छ । दसैंको टीकाको राति ८ बजे वडाअध्यक्ष श्रेष्ठले बालिकालाई प्रलोभन देखाएर आफ्नै घरमा बोलाई बलात्कार गरेको पीडितबाट उजुरी आएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताउनुभयो ।

उहाँका अनुसार किशोरीले जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्न बारा जिल्ला अदालतले अनुमति दिइसकेको छ । तर वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै वडाको काम छाडेर फरार भएकाले पक्राउ पर्न नसकेका प्रहरीको भनाई छ । बलात्कार आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न सबै विधि र तरिका अपनाइने बारा प्रहरीले जनाएको छ । घटनालाई दबाउन खोजिए पनि दुई सातापछि घटनाबारे सार्वजनिक भएको हो ।

यता वडाध्यक्ष फरार भएपछि सेवाग्रहीसहित वडाको दैनिक प्रशासनिक कार्य भने प्रभावित भएको छ । कार्यवाहक कसलाई दिने र कसले लिने भन्ने विषयमा वडाका सदस्यहरूबीच चर्को विवाद छ । कसैले पनि कार्यवाहक नपाउँदा कार्यालयको काम भने प्रभावित भएको हो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार