मदिरा भट्टी नष्ट

मदिरा भट्टी नष्ट

बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका वडा नं.६ पटेर्वा बस्ने सञ्जिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको छ । स्थानीय प्रतिनिधिको रोहवरमा छापा मारेर प्रहरीले रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भाँडाकुँडा तथा ७ बोरा सख्खर समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

जिल्लामा अपराधिक गतिविधि, घरेलु हिंसा न्यूनिकरण गर्न अवैध घरेलु मदिरा उत्पादन भट्टी बन्द गर्नुपर्ने आवश्यकता देखिएकाले प्रहरीले विशेष टोली बनाएरै मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो । छापामारीका क्रममा पक्की घरभित्र अण्डरग्राउण्ट टंकी निर्माण गरेर मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ भण्डारण गर्ने गरेको भेटीएकोे छ ।

यसका साथै मदिरा बनाउन अस्वस्थकर सामग्री प्रयोग गर्नुका साथै सडेगलेका वस्तु पनि हाल्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।बारामा उत्पादित घरेलु मदिरा कलैया बजारका साथै बिरगञ्जसम्म पुग्ने गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार