मधेश प्रदेशको मिथिला क्षेत्रमा आज अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा र दर्शन गर्ने परम्परा छ ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ ।
चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजन सहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न गरिन्छ ।
भगवान श्रीकृष्णलाई आजकै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङक छुटेकोले यस पर्वको पौराणिक महत्व श्रीमद्भागवात पुराणमा उल्लेख छ । मधेश प्रदेशमा उल्लास र भक्तिसाथ मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको पाइन्छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?