मधेश प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको तलब तथा सेवा सुविधा वृद्धि गरेको छ । मधेस प्रदेश सरकारको गत साउन २३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बहालबला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजारले वृद्धि भएको छ ।
मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार थप गर्ने र क्र.सं. ५ को सवारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रिपरिषद् निर्णय अनुसार भदौ ५ मा प्रदेश राजपत्रमा नयाँ तलब मान सार्वजनिक गरिएको हो ।
जस अनुसार अब मधेस प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९७० रुपैयाँ तलब पाउने भएका हुन् । यस्तै, मन्त्रीले ५९ हजार ७८०, राज्यमन्त्रीले ५८ हजार ४९० र सहायक मन्त्रीले ५५ हजार तलब पाउने छन् । यस्तै प्रदेशसभाका पदाधिकारी र सांसदहरुको समेत दुई हजार तलब बढेको छ । अब सभामुखले प्रति महिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७८०, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९०, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यहरुले ५४ हजार ६ सय रुपैयाँ तलब पाउने भएका छन् ।
मुख्यमन्त्रीलाई प्रति महिना ३ सय लिटर सवारी इन्धन दिँदै आएकोमा अब प्रति गाडी ३ सय लिटर इन्धन पाउने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेको छ । कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आफ्नो आधिकारीक वेबसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?