मधेश प्रदेश सरकारले प्रहरी समायोजन नगरेको भन्दै जारी राखेको धर्ना कार्यक्रम स्थगन गरिएको छ । संघीय सरकारले प्रहरी समायोजनमा चासो नदिएको भन्दै मधेस प्रदेश सरकारले पहिलो चरण आन्दोलन अन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएको हो । आईतबार देखि शुरु गरेको धर्ना आज मंगलबारबाट स्थगन भएको प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । प्रहरी समायोजनको माग गर्दै दुई दिनदेखि जारी धर्ना आजबाट स्थगन भएको उहाँको भनाई छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले धर्ना स्थगन गर्नुभएको हो । अब बन्ने सरकारले प्राथमिकतामा राखेर प्रहरी समायोजन गर्ने आश्वासन दिलाएकाले धर्ना स्थगन गरिएको मुख्यमन्त्री राउतले बताउनुभयो । दुई दिन बसेको धर्नामा प्रदेशका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो । नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहने उल्लेख छ । तर, प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको गुनासो गरेको छ । प्रहरी समायोजनका बिषयमा पटक पटक संघिय सरकारको ध्यानाकर्षण गराएपनि चासो नलिएको मधेश प्रदेश सरकारले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?