सर्लाहीका अधिंकाश स्थानिय तहले करार र ज्यालादारी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । उनीहरुको म्याद थप तथा नवीकरण नगर्ने भनी कार्यपालिका बैठकबाट नै हटाउने निर्णय गरेको हो । मलंगवा नगरपालिका, कविलासी नगरपालिका, बलरा नगरपालिका, धनकौल गाउँपालिका र हरिपुर नगरपालिका लगायतका स्थानिय तहले करार कर्मचारीलाई हटाउने निणय गरेको छ ।
हटाइएका करार तथा ज्यालादारीका कर्मचारीको स्थानमा केही स्थायी कर्मचारी आइसकेका र रिक्त रहेको ठाउँहरुको बारेमा अर्को निर्णय भई नसकेको पालिकाहरुले जनाएका छन् । तर कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरु पुनः बहालीको माग राख्दै धर्ना बसेका छन् । कविलासी नगर कार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेर निर्णय गरेको थियो । उक्त निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरुप्रति अन्याय भएको भन्दै निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
करार तथा ज्यालादारी कर्मचारीले यसअघि नै आफ्ना माग पूरा गर्न नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सर्लाही, कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ सर्लाही लगायतका निकायहरुमा ज्ञापनपत्र समेत बुझाएका छन् ।सर्लाहीका स्थानीय तहले करारमा कार्यरत कर्मचारीलाई धमाधम कामबाट निकाल्न थालेका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?