महोत्तरीमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् ।पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा ४० वर्षीय भतिजा रामनाथ दासले आफ्ना ६० वर्षीय काका रामबहादुर दासलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । घरबाट २ सय मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले बोलाउन जाँदा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालोले काकाको टाउकोमा प्रहार गरेका थिए । काका रामबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार जेलबाट रिहा भएको एक महिनामा भतिजाले काकाको हत्या गरेका हुन् । रामनाथ यसअघि कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयो । रामबहादुरको शव बिहीबार राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने हत्या गर्ने भतिजा रामनाथलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?