पर्सा । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धीकरणको कार्य तीव्र रुपमा अगाडि बढाइएको छ ।
हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र रुपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा म सहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।”
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादव सहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको छ ।
हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परिक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्री सहितको मोबाइल भ्यान टोली तत्कालै खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?