सांसदको गुनासो- सुनभन्दा महङ्गो भयो नुन

सांसदको गुनासो- सुनभन्दा महङ्गो भयो नुन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गर्नुभयो । 

    सांसद विद्या भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको  भविष्यमाथि खेलवाड भएको बताउनुभयो ।    

    विश्वविद्यालयले गत वैशाखमा जनसङ्ख्या र फाउण्डेसन अफ एजुकेशनको परीक्षा लिएको थियो । सोही परीक्षामा सहभागी कम्तीमा एक सय ८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएकाले विश्वविद्यालयले पुनः परीक्षा दिनुपर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । उहाँले यसप्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     सांसद बिना लामाले हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासो आइरहेको र उनीहरु घण्टौँ हिँडेर सदरमुकाम पुग्दा पनि नुन नपाउने समस्या झेलिरहेको भन्दै मुगुमा तत्काल नुनको प्रबन्ध गर्न सरकार समक्ष माग गर्नुभयो । “नागरिक सबैको भान्सामा नभई नहुने खाद्यपदार्थ नुन हो तर, कैयौँ हिमाली जिल्लाका नागरिकका लागि नुन सुनभन्दा पनि महङ्गो भइरहेको छ”, सांसद लामाले भन्नुभयो ।
     सांसद बिजुला रायमाझीले अर्घाखाँचीको एतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको सुपा देउराली मन्दिरको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन माग गर्नुभयो । 

    सांसद शान्ति बिकले विभिन्न भ्रष्टाचार र ठगीमा संलग्न दोषीलाई कारबाही गरी अपराध नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न माग गर्नुभयो । सांसद शिव नेपालीले काभ्रेपलाञ्चोकका अजित मिजारले उपल्लो जातसँग प्रेम विवाह गरेकै कारण मारिएको भन्दै उनका परिवारले न्याय नपाएसम्म अन्त्यष्टि नगर्ने भनी पर्खिरहेकाले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

   

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार