विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाण्डौ । फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स र अर्जेन्टिनाबीच यसअघि समग्रमा १२ खेल भएका छन् । यी खेलमा अर्जेन्टिना अगाडि छ । उसले ६ खेल जितेको छ भने फ्रान्सले ३ खेल मात्र जितेको छ ।

३ खेल बराबरी भएका छन् । विश्व कप अन्तर्गत दुई देशबीच तीन वटा खेल हुँदा अर्जेन्टिनाले २ र फ्रान्सले १ खेल जितेका छन् । पछिल्लो पटक सन् २०१८ मा रुसमा भएको विश्व कपमा प्रतियोगिताको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएको थियो । सन् १९३० को विश्व कपमा अर्जेन्टिनाले फ्रान्सलाई १–० र सन् १९७८ को विश्व कपको समूह चरणमा ३–१ गोलले हराएको थियो । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ ।

यो विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार