काठमाण्डौ । सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध परेका दुई रिट विरुद्ध मंगलबार सुनुवाइ हुँदैछ । ‘नो नट अगेन’ अभियानविरुद्ध आयोगले विज्ञप्ति जारी गरेको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
सोमबार रिट दायर भएपछि आजका लागि प्रारम्भीक सुनुवाइको समय तोकिएको हो । सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गर्नुभएको थियो । रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार नै रिट दायर गर्नुभएको छ । आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उहाँले रिट दर्ता गर्नुभएको हो । मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले कार्कीको उमेदवारी खारेज गरेको थियो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?