काठमाडौं । मातातीर्थ औँसी, शनिबार श्रद्धा भक्तिका साथ मनाइँएको छ ।
यस दिन छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ । यस अवसरमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लागेको छ ।
मेला भर्न हजारौको संख्यामा भक्तजनहरु मातातीर्थ पुगेका थिए । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । उक्त स्थानमा आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो ।
यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याएको संस्कृतिविदहरुको भनाई छ । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’को मूर्ति समेत स्थापना गरिएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?