काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा विउँताउने मात्रै नभइ तिथि मिति नै तोकेर सिंहसानमा विराजमान गराउने भ्रम फिँजाइ संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवम् अराजक गतिविधि सुरु भएको भन्दै संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद कानून बमोजिम गरिने उहाले बताउनुभयो । उहाले प्रतिगामी सोच कहिल्यै पुरा नहुने भन्दै धेरै बल नगर्न सुझाव दिनुभयो ।
प्रधानमन्त्री ओलीले दलहरु बीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बिपक्षी दलका सांसदले गालीगलौजको भाषा बोलेको तर्क गर्नुभयो । ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको जिकिर गर्नुभयो ।
थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गर्ने, चालु परियोजनालाई आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न गर्नका लागि समयतालिका तयार गर्ने सरकारको नीति रहेको उहाले बताउनुभयो ।
उहाले तीन तहका सरकारबीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायीकीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाउने नीति अघि सारिएको बताउनुुभयो ।
सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवामा आबद्ध गर्ने, स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने नीतिले पुनःसंरचना गरिने स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउने उहाले बताउनुभयो । उहाले सरकारको नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?