काठमाडौं । नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा मक्कुम्लुङ क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने बताएका छन् ।
“नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, उर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको छ । तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न,विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौं । ” विज्ञप्तिमा भनिएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?