काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको बताउनुभएको छ ।
आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गर्नुभयो । उहाँले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो ।
“हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ ।”, अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।”
पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिद्ध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गर्नुभयो ।
बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली काङ्ग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको परराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?