काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको हो ।
‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’
आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन् ।’
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?