काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने स्पष्ट पार्नुभयो । “कानुन विपरीत काम भएको छ भने तत्काल कारबाही गर्नुस् । जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु ।”
राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनीरुपमा आफ्नो नाममा ल्याउँछ भने जोकोही भए त्यसलाई कानुनको दायरामा ल्याइनुपर्ने उहाँको भनाइ थियो । कुनै विषयमा छानबिन गर्दै जाँदा आफू नै संलग्न भएको भए पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ भनेको प्रसङ्ग स्मरण गर्दै उहाँले शेरा दरबारलगायत अन्य प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न आग्रह गर्नुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?